प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४११७७, हटलाईन नं. :११७७
नेपा
EN

मानव बेचबिखन अनुसन्धान ब्युरो

परिचय:

 

मानव बेचबिखन तथा ओसारपसार मानवता विरुद्धको जघन्य अपराध हो । शुरुमा मानव बेचबिखन दास (Slavery) र बंधुवा श्रमिक (Bonded Labor) वा यौन दासीको रुपमा मात्र सीमित थियो भने हाल यो अपराध विश्वभर आधुनिक दासता (Modern Slavery) को रुपमा फैलिएको छ । अवैध लागु औषध (Illegal Drugs) र हात हतियार (Illegal Weapons) कारोवार पछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रुपमा मानव बेचबिखन तथा ओसारपसार देखिएको छ । महिला तथा बालबालिका र वयस्क पुरुष समेत यस अपराधबाट अत्याधिक रुपमा पीडित भएका छन् । कमारा कमारी, बंधुवा तथा दास प्रथा हुँदै आजको युगमा आधुनिक दासता (Modern Slavery) को रुपमा मानव बेचबिखन तथा ओसारपसारलाई लिन सकिन्छ । नेपालबाट विशेष गरी भारत, खाडी मुलुक, अफ्रिकन देशहरू, युरोपियन तथा अमेरिकन देशहरूमा विभिन्न स्वरुप तथा प्रकृतिमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि अपराधहरु भईरहेका छन । मानव वेचबिखन तथा ओसारपसार सम्बन्धि अपराध नियन्त्रण गर्न एउटा विशिष्टिकृत एंव साधनस्रोत सम्पन्न ईकाईको आवश्यकता महसुस गरी सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममूखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा रहने गरी मानव बेचबिखन अनुसन्धान ब्युरोको गठन भएको हो ।

 

स्थापना :

 

मिति २०७५ साल जेठ २७ गतेको नेपाल सरकार (मन्त्रीपरिषद) को निर्णयानुसार मानव बेचबिखन अनुसन्धान ब्युरो स्थापना गरिएको हो । व्यूरोले मिति २०७६ साल वैशाख २९ गतेबाट कानून किताब व्यवस्था समितीको भवनमा कार्यालय स्थापना गरी कार्यारम्भ गरेको छ । ब्युरोको कामलाई विशिष्टिकृत गर्दै मिति २०७६ भदौ ४ गतेको नेपाल सरकार (मन्त्रीपरिषद्) को निर्णय भई प्रहरी नियमावली २०७१ मा सातौ संशोधन गरी यस ब्युरोको लागि कार्यादेश प्राप्त भएको हो ।